सिन्धुलीमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखीकरण

Coordination meeting/events with DPOs/or SHGs or user Groups in Sindhuli
Coordination meeting/events with DPOs/or SHGs or user Groups in Sindhuli

४ बैशाख २०७९ । सिन्धुलीमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचको बिषयमा अपाङ्गता भएका व्यक्तिको संघसंस्था एवं सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत उक्त कार्यक्रम भएको हो ।

सो कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमको अतिथि कमलामाई नगरपालिकाको सामाजिक शाखा प्रमुख सत्यदेवी अधिकारीले स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचका लागि समबुझाईको अभाव रहेकोमा यस कार्यक्रमले समबुझाई बिकास गरेकोले आगामी दिनमा पालिकाले बजेट वृद्धि गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा अपाङ्ग कल्याण संघका अध्यक्ष विरु लामाले पुनर्स्थापना सेवामा सबैको पहुँच सुनिश्चित गर्न सबै सरोकारवालाहरुले हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो । सोही क्रममा कमलामाईको बहिरा स्कूलका प्रधानाध्यापक विजय तामाङले बहिरा व्यक्तिहरुलाई शिक्षा मात्र नभई सिप बिकास गर्नका लागि स्थानिय सरकारले पहल लिनुपर्ने बताउनुहुँदै बहिरा बिद्यार्थीको पुनर्स्थापनाको लागि स्थानिय सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

यसैबिच सिन्धुली अपाङ्ग महिला संघको अध्यक्ष दिलकुमारी (दिपा) देवकोटाले स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचका बिषयमा कोषले गरेको कार्यक्रमले सिन्धुलीमा रहेका अपाङ्गता भएका व्यक्तिहरु र पालिकाका शाखाका कर्मचारीहरुको बुझाईमा समानता आएको पनि बताउनुभयो । पालिकाले बजेट बिनियोजन गर्ने क्रममा पनि पुनर्स्थापना सेवामा ध्यान दिन नसकेकोमा आगामी दिनमा बजेट तथा निती योजनाद्वारा सम्बोधन हुने वातावरण सृजना भएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा मन्तव्य दिनुहुँदै कोषका बोर्ड सदस्य नवराज नेपालले राष्ट्रिय अपाङ्ग कोषले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना सेवामा काम गरीरहेकोले सिन्धुली जिल्लाका विभिन्न पालिका एवं अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुले पनि कोषसँग सेवामा साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएको राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव अनिता घिमिरेले कोषले सबै वर्गका अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमहरु गरिरहेकोले स्थानिय सरकार र सरोकारवाला सबै पक्षले सेवा प्रवाहको लागि समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताउनुहुँदै उपस्थित सबैमा धन्यवाद् व्यक्त गर्नुभयो ।

सिन्धुली जिल्लामा क्रियाशिल अपाङ्गता भएका व्यक्तिका संघसंस्थाका प्रतिनिधी, प्रयोगकर्ता एवं कमलामाई नगरपालिकाका सामाजिक शाखाका कर्मचारीहरु सहित २५ जनाको सहभागीता रहेको कार्यक्रम  सिन्धुली अपाङ्ग महिला संघको समन्वयमा भएको थियो ।

Previous articleधादिङमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवा सम्बन्धी अभिमुखीकरण
Next articleProduct Narratives on Wheelchairs