धादिङमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवा सम्बन्धी अभिमुखीकरण

Coordination meeting/events with DPOs/or SHGs or user Groups in Dhading
Coordination meeting/events with DPOs/or SHGs or user Groups in Dhading

२ बैशाख २०७९ । धादिङ जिल्लामा अपाङ्गता भएका व्यक्ति र तिनका संघसंस्थाका प्रतिनिधी एवं प्रयोगकर्ताहरुलाई स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत उक्त कार्यक्रम भएको हो ।

अपाङ्ग पुनर्स्थापना समाज धादिङको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघको फोकल पर्सन जानुका सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुभित्र पनि अपाङ्गता भएका महिलाहरुको अवस्था अझै जटिल भएकोले पुनर्स्थापना सेवाको सबैभन्दा धेरै खाँचो उनिहरुलाई रहेको बताउनुभयो ।

यस्तै बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङका जिल्ला उपाध्यक्ष गर्भे बहादुर मिझारले पुनर्स्थापना र सहायक सामाग्रीको बिषय अत्यन्तै महत्वपूर्ण बिषय भएको र बिशेष गरि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराइने पाठ्य सामाग्री इजी टु रिड ढाँचामा उपलब्ध हुनुपर्ने र उनिहरुको नियमित बिकासको लागि अक्कुपेशनल थेरापीको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य दिनुहुँदै राष्ट्रिय अपाङ्ग महासंघका संघिय सदस्य शिव श्रेष्ठले स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवाको बिषय अब राष्ट्रिय अपाङ्ग कोषको मात्र नभई सबै अपाङ्गता भएका व्यक्तिको संघसंस्थाको मुद्धा बन्नुपर्ने बताउनुभयो ।

मन्तव्यकै क्रममा महासंघका बागमती प्रदेश अध्यक्ष अस्मिन लम्सालले कोषले धादिङ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरु र तिनका संघसंस्थाका प्रतिनिधीहरुलाई एकै स्थानमा भेला गरि स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचका बिषयमा दिएको प्रस्तुतीले सबैमा समान धारणा बनाउन सहयोग गरेको बताउनुभयो । उहाँले कोषले विगतदेखी नै बागमती प्रदेश राष्ट्रिय अपाङ्ग महासंघसँग मिलेर बागमती प्रदेशमा पुनर्स्थापना सेवामा पहुँच बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा कोषको सेवालाई अझै प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव अनिता गैरेले स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँच प्राप्त गर्नु सबैको अधिकार भएकोले कोषले सो का लागि कोषले सञ्चालन गरिरहेको अपाङ्गता पुनर्स्थापना सेवाको क्षेत्र बिस्तार गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै कोषका सभापति तथा कार्यक्रमको सभाध्यक्ष डेकराज भट्टराईले राष्ट्रिय अपाङ्ग कोषको एक मात्र ध्येय भनेको पुनर्स्थापना सेवा आवश्यक व्यक्तिहरुलाई सर्वसुलभ र सहज सेवा उपलब्ध गराउनु रहेकोले यसको स्रोत वृद्धि गर्न र कोषले लिएको कार्यगत नमुनाको क्षेत्रमा सहकार्य र समन्वयलाई व्यापक एवं बिस्तार गरिनुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरोकारवालाहरुले स्थानिय तहदेखी संघिय तहसम्म आवाज उठाएको खण्डमा कोषले लिएको पुनर्स्थापना सेवामा सहज पहुँचको बिषयलाई स्थापित गर्न सकिने हुनाले सबैले यथास्थानबाट यस बिषयमा बहस र छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

सो कार्यक्रममा कोषको तर्फबाट प्रशासन अधिकृत सुनिता पौडेल, फण्डरेजिङ अधिकृत मिलन खराल लगायत धादिङ जिल्लामा कृयाशिल २ दर्जन भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Previous articleOur Legalities
Next articleसिन्धुलीमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापनामा पहुँच सम्बन्धी अभिमुखीकरण